इजरायली हवाई आक्रमणमा लेबनानी टेलिभिजन प्रस्तोताको मृत्यु
लेबनान । दक्षिण लेबनानको टायर सहरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा परी चर्चित टेलिभिजन प्रस्तोता अली नुर अल-दिनको मृत्यु भएको छ। हिजबुल्लाहसँग आबद्ध अल-मनार टिभी स्टेशनमा धार्मिक कार्यक्रमहरू सञ्चालन गर्ने अल-दिनको सोमबार भएको आक्रमणमा ज्यान गएको हो।
हिजबुल्लाहले यस घटनालाई ‘विशवासघाती हत्या’ को संज्ञा दिँदै इजरायली आक्रमणले अब सञ्चार जगतलाई पनि खतरामा पारेको चेतावनी दिएको छ। लेबनानी सूचना मन्त्री पल मोर्कोसले सञ्चारकर्मीमाथि भएको यस आक्रमणको कडा शब्दमा भर्त्सना गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत इजरायली प्रहारले पत्रकार र सञ्चार टोली कसैलाई पनि नछोडेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न र लेबनानी पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
इजरायली सेनाले भने अल-दिन हिजबुल्लाहको सदस्य भएको दाबी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ।
सन् २०२४ मा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका बावजुद लेबनानमा इजरायली आक्रमण रोकिएको छैन। तथ्याङ्क अनुसार युद्धविराम पछि मात्रै इजरायली प्रहारबाट लेबनानमा ३५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
सन् २०२३ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउने लेबनानी पत्रकारहरूको सङ्ख्या १० पुगेको विभिन्न सञ्चार अनुगमनकारी निकायहरूले उल्लेख गरेका छन्।
यसैबिच, मध्यपूर्वमा अमेरिकी युद्धपोतको आगमन र इरानमाथि बढ्दो खतराका बिच हिजबुल्लाह प्रमुख नइम कासिमले कडा चेतावनी दिएका छन्। उनले इरानमाथि हुने कुनै पनि आक्रमण हिजबुल्लाहमाथिको आक्रमण मानिने र त्यसले सिङ्गो क्षेत्रलाई युद्धको ज्वालामा धकेल्ने बताएका छन्।
तेहरानले पनि अमेरिकालाई चेतावनी दिँदै कुनै पनि आक्रमणको जवाफ दिने र त्यसको असर सम्पूर्ण मध्यपूर्वमा पर्ने बताएको छ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार
















