क्यालिफोर्नियामा ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मी आन्दोलित
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल गरेका छन् ।
यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन भएको हो ।
क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका झन्डै ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् ।
हडतालमा दर्ता प्राप्त नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मी सहभागी छन् ।
उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डमा रहेका प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ ।
ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । उनीहरुले उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गर्ने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार
















