बालेन सहभागी कार्यक्रममा सुनको सिक्री चोरेको आरोपमा एक युवक पक्राउ
अछाम । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२ दशमलव १७ ग्राम तौलको सुनको सिक्री रायले चोरेको आरोप छ ।
सिक्री हराएको सूचनापछि इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले रायलाई नियन्त्रणमा लिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार












