भोट हाल्न आउँदैछु प्रिय



प्रिय फुलमती,
लामो अन्तरालपछि तिम्रो खुबै याद आएकोले देशकोन्यूज मार्फत मायाको कोशेली सुम्पने जमर्को गर्दैछु । यो व्यस्त सहरको एक कुनामा धुवाँ, धुलो अनि कुइरीमण्डल तथा कोलाहलमा रुमलिदै आयु छोट्याउनमा विवश छु। फुलमती तिमी देखि टाढा भएर प्रदेशिएको पनि लामो समय भई सकेछ ।

तिम्रो सिउँदो भरेको भोलीपल्ट भालेको डाँक सँगै तिमीलाई छोडेर हिडे । बिहेपछि सँगै बस्ने रहरहरुलाई कुण्ठित पार्दै हनिमुन समेत पूरा मनाउन समेत पाइएन हनिमुन त के तिमीले बेहुलीमा पहिरेको कपडा समेत फेर्न भ्याएकी थिइनौं तिमीलाई ओछ्यानमै छोडेर सिमसिम पानीमा रुझ्दै प्रदेशिए ।

बिहेको ऋण तिर्नकै खातिर तिम्रो अपार मायाँलाई लत्याएर सहर छिरे । तिमीलाई मैले छोडेको दिन देखि तिमी एक्ली भयौं धेरै दुःख कष्ट सँग सामाना गर्नु पर्दा तिमी पनि विरक्तिएर सुनसान ठाउँमा भौतारिदैछौ की भन्ने शंका मनमा लागिरहन्थ्यो ।

तर तिमी अलिकति पनि विचलित नभई घर परिवार अनि गाउँ समाजको साथ सहयोग अपार माया पाएर तिमी त गाउँकी शोभायमान फुलबारीकी कहिल्यै नओइलाउने फुल भएर पुरै वस्तीमा बास्ना छर्दैछेयौं रे ।

प्रिय, गाउँ समाजमा देखिएका विकृति, विसंगतिलाई किनारा लगाउँदै गाउँ समाजको मुहार फेर्नमा दिन रात अनवरत रुपमा तिमी आफै लागिपरेकाले नी आज प्रत्येक घर-घरमा खानेपानीको धारो निर्माण हुँदैछ रे, दियालोको उज्यालोमा भर पर्नु दिन गएको छ रे, जताततै मान्छेका मलमुत्रले तहस नहस भएको दुर्गन्धित टोलमा प्रत्येक घर घरमा चर्पी निर्माण गरी दिसा मुक्त क्षेत्र घोषणा गरिएको समाचार फेसबुकका भित्ताभरी देख्न पाउँदा यो मन हर्षित छ।

प्रिय, साच्चिकै गाउँमा विकासको मुल फुटाउन तिमीले धेरै पसिना बगाएको समाचारले यो मन त्यसै फुरुङ्ग भएको छ । प्रिय यति बेला स्थानीय चुनावको माहोलले पुरै गाउँ बिहेको लागि सजिएको बेहुली घर झै भएको होला ।

सडक, बाटो पेटी मजेरीमा रङ्गीविरङ्गी तुल ब्यानर टाँगिएको होला । कहिल्यै नदेखिएका अनुहारहरुको ताती लागेको होला घर घरमा विभिन्न आशा र प्रलोभन देखाई भोट माग्दै आउँदै होलान् नेताहरु ।

जातीको नाम लिएर, गरीब दिन दुखीको नाम बेचेर, भूकम्प पीडित, बाढी पीडित, दलित, महिलाको नाम जप्दै कचौंरा चाट्न पल्केका ब्वासोको रुप धारणा गरी भित्रभित्रै समाजलाई खोक्रो पारी नङग्याउन खप्पिस भ्रष्टमति बोकेकाहरु यस पटकको चुनावमा फेरि पनि र्‍याल चुहाउँदै विभिन्न नाना भातीका कुरा तेस्राउँदै सलबलाउन थालेका होलान् ।

खबरदार प्रिय यस पटकको स्थानीय चुनावमा ति साधुको भेष रुप धारण गरी त्रिशुलले घोचेर जनतालाई मार्ने नियत बोकेका नेतालाई भोट दिएर गल्ति गरेर पछि पछुताउनु भन्दा यही निर्वाचन देखि नै त्यस्ता नेताहरुको अन्त्य गरिनु पर्दछ ।

नयाँ एजेण्डा र समाजको काचुली फेर्ने तथा युवा जोश जागर बोकी तिमीले जस्तै विकासको मुल फुटाउने नेताको गाउँपालिकाको लागि खाँचो छ ।

तिमीलाई थाहै छ प्रिय, सदियौं देखि रुखमा छाप हालेकी हाम्री आमाले दियालोको धुँवासँगै जिवनलाई आहुती दिईन् भने मण्डले काकाले सूर्यमा छाप हालेका हालै छन् तर मण्डले काकालाई त्यही घामले डडाएर पिल्सिएको तालुमा मलम लगाउन नपाएर छट्पटिरहेको आखै अगाडी छर्लङ्ग छ प्रिय, हँसिया हथौडामा छाप हाल्दा छुवाछुतको अन्त्य हुन्छ भनेर लागेका विके माल्दाईको हालत हेर त ?

प्रिय, साच्चिकै तिमी यस पटकको चुनावमा गाउँपालिको नेतृत्व गर समाजले तिम्रो ठूलो आशा र अभिलाषा बोकेको छ । समाजलाई पृथक खालको आभाष दिलाउन कटिबद्ध भई अघि बढ प्रिय, तिम्रो पक्षमा भोट हाल्नकै लागि यस पटक गाउँ आउँदैछु ।

प्रिय अन्त्यमा यस पटकको निर्वाचनले सक्षम र दक्ष उर्जावान व्यक्ति तिमीलाई निर्वाचित गरोस् मेरो यही शुभेच्छा । गाउँका सबै मतदाताहरुलाई पनि चुनावी सलाम भन्दै निर्वाचननको दिन रामप्रसाद राई गाउँपालिकाको श्री नवदुर्गा मा.वि. दलगाउँ मतदान केन्द्रमा भेट्ने बाचा सहित ओझेल पर्दछु उही तिम्रो ………………..लज्जालु ।

एकराज भुजेल “लज्जालु”
काठमाण्डौं ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News