पूर्वमन्त्री जितेन्द्र देवद्धारा एमाले परित्याग गरेको घोषणा



काठमाडौं । संविधानसभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् ।

जितेन्द्रले आज पत्रकार सम्मेलन गर्दै एमाले त्यागेको घोषणा गरेका हुन् ।

एमाले प्रवेश गरेको एक वर्ष नपुग्दै पार्टी त्यागेका जितेन्द्रले पार्टीभित्र व्यक्तिवाद हाबी रहेको बताएका छन् ।

देव लामो समयसम्म एमालेको राजनीतिक संरचनामा सक्रिय थिए। त्यसपछि उनी विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० मा सहभागी भई संविधान सभा सदस्य बनेका थिए।

उक्त दल नेपाली काँग्रेसमा समाहित भएपछि देव पनि काँग्रेसमै आबद्ध भएका थिए। काँग्रेसको तर्फबाट उनले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका थिए।

राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुन २०८० मा समाप्त भएपछि देव १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए।

देव नेकपा एमालेको केन्द्रीय सदस्य, नागरिकता जाँचबुझ आयोगको अध्यक्षजस्ता जिम्मेवारीमा रहेका थिए ।

उनले ४० वर्ष लामो राजनीतिक जीवनमा नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस पार्टीमा आफूलाई प्रवेश गराएका छन् ।

पार्टीभित्र पछिल्लो समय देखिएको नेतृत्व केन्द्रित सोच, व्यक्ति विशेषको महिमाकरण, निर्णय प्रक्रियामा स्वेच्छाचारितामा आफू सहमत हुन नसकेको कारण दल परित्याग गर्ने निष्कर्षमा पुगेको उनको दाबी छ ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्