ट्रम्पको हत्या प्रयास गर्ने व्यक्तिलाई आजीवन कारावास
दुई वर्षअघि हाल राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका व्यक्तिलाई बुधबार अदालतले जेल सजाय सुनाएको छ ।
सीएनएनका अनुसार फ्लोरिडामा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
उनले सन् २०२४ मा ट्रम्प राष्ट्रपति चुनावको प्रचार अभियान चलाइरहेका बेला ट्रम्पको हत्या प्रयास गरेका थिए । सन् २०२४ सेप्टेम्बर १५ मा ट्रम्प राष्ट्रपति चुनावका लागि प्रचार गरिरहेका थिए ।
राउथ ट्रम्पको गल्फ कोर्स नजिकै झाडीहरूमा एके–४७ जस्तो सोभियत शैलीको राइफल र शरीर कवच लिएर लुकेका थिए ।
गुप्त सेवा एजेन्टले तत्काल देखे र गोली हाने, जसपछि राउथ घटनास्थलबाट भागे । पछि प्रहरीले उनको कारको लाइसेन्स प्लेटका आधारमा उनलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार
















