वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
पर्सा । पर्सामा अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार राति नै पक्राउ गरिएको जानकारी गराएका हुन् ।
सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो।
झडपका क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो ।
सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।
प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार
















