क्यानडाको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँद ९ जनाको मृत्यु
क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको ज्यान गएको छ ।
मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
अस्पताल लैजाँदै गर्दा थप एक जनाको मृत्यु भएको र संदिग्ध आक्रमणकारी पनि मृत फेला परेको प्रहरीले जनाएको छ । आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विद्यालयमा भएको नरसंहारको केही समयपछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो ।
गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पु¥याइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त मानिने टम्बलर रिज सहरलाई स्तब्ध बनाएको छ।
क्यानडामा अमेरिकाको तुलनामा कडा बन्दुक नियन्त्रण कानुन भएका कारण यस्ता सामूहिक गोलीकाण्डका घटना निकै दुर्लभ मानिन्छन् ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार
















