इजरायलको नयाँ नियमपछि बढ्यो वेष्ट बैंक विलयको डर
रफाह । इजरायली सरकारले वेष्ट बैंकमा भूमि दर्तासम्बन्धी नियम परिवर्तन गरेपछि प्यालेस्टिनीहरूमा डि–फ्याक्टो (वास्तविक) विलयको डर तीव्र बनेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयले अवैध रूपमा कब्जा गरिएको क्षेत्रमा यहुदी इजरायलीलाई जमिन किन्न सजिलो बनाएको छ ।
नयाँ व्यवस्थाअनुसार वेष्ट बैंकका भूमि अभिलेख सार्वजनिक गरिनेछ । यसले इजरायली क्रेता र बसोबासकर्तालाई जमिनको मालिक पहिचान गर्न सजिलो बनाउनेछ । तर प्यालेस्टिनी मालिकमाथि दबाब, धम्की र उत्पीडन बढ्ने जोखिम रहेको स्थानीय बासिन्दा बताउँछन् ।
साथै सरकारले हेब्रोन सहरका अवैध यहुदी बस्ती र इब्राहिमी मस्जिद परिसरमा भवन अनुमति दिने अधिकार प्यालेस्टिनी नगरपालिकाबाट खोसेर इजरायललाई दिएको छ । यो कदमले इजरायलको प्रत्यक्ष नियन्त्रण थप बलियो बनाउने विश्लेषकहरू बताउँछन् । हेब्रोनस्थित इब्राहिमी मस्जिदका निर्देशक मोताज अबु स्नेइनाले यसलाई १९६७ यताकै सबैभन्दा गम्भीर विकास भनेका छन् । उनका अनुसार यसले हेब्रोनको पुरानो सहर र मस्जिद परिसरमाथि इजरायली नियन्त्रण थप विस्तार गर्नेछ ।
इब्राहिमी मस्जिद मुस्लिम र यहुदी दुवैका लागि पवित्र स्थल हो । १९९४ मा एक यहुदी बसोबासकर्ताले प्रार्थनारत मुस्लिममाथि गोली चलाउँदा २९ जनाको मृत्यु भएपछि इजरायलले स्थललाई अलग–अलग प्रार्थना क्षेत्रमा विभाजन गरेको थियो ।
हाल केही सय मात्र यहुदी बसोबासकर्ता भएपनि उनीहरू इजरायली सेनाको सुरक्षामा हेब्रोनको ठुलो भूभाग नियन्त्रणमा राख्छन् । संयुक्त राष्ट्रसङ्घ र अधिकांश देशले पश्चिमी किनारामा इजरायली बस्तीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत ठान्छन्, तर इजरायलले यसलाई अस्वीकार गर्दै आएको छ ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार
















