रुसद्वारा ह्वाट्सएपमाथि लगायो पूर्ण प्रतिबन्धको प्रयास, १० करोड प्रयोगकर्ता प्रभावित हुने



मस्को । रुसले आफ्नो देशमा लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपलाई पूर्ण रूपमा ब्लक गर्ने प्रयास सुरु गरेको छ। क्रेमलिनले इन्टरनेट र सञ्चार माध्यममाथि नियन्त्रण कडा पार्ने रणनीति अन्तर्गत यो कदम चालेको हो। ह्वाट्सएपको मातृ कम्पनी मेटाका अनुसार रुसी सरकारको यो कदमले त्यहाँका करिब १० करोडभन्दा बढी प्रयोगकर्तालाई निजी र सुरक्षित सञ्चार सेवाबाट बञ्चित गर्नेछ।

रुसले आफ्ना नागरिकलाई सरकारी निगरानी रहने ‘सर्भिलियन्स एप’ प्रयोग गर्न बाध्य पार्न यस्तो प्रतिबन्धको बाटो रोजेको मेटाले आरोप लगाएको छ। रुसी सञ्चार नियामक निकाय ‘रोसकोमनाडजोर’ ले ह्वाट्सएपलाई स्थानीय कानुन पालना गर्न पटक-पटक चेतावनी दिँदै आएको थियो ।

रुसले सन् २०२२ मा मेटालाई चरमपन्थी संगठन घोषणा गरेपछि इन्स्टाग्राम र फेसबुकमाथि पहिले नै प्रतिबन्ध लगाइसकेको छ, जुन अहिले त्यहाँ भीपीएनमार्फत मात्र चलाउन सकिन्छ। रुसी अधिकारी आन्द्रेई स्विन्तोभले मेटामाथिको प्रतिबन्ध जायज रहेको दाबी गरेका छन्। यसै वर्षको सुरुमा रुसी सरकारी सञ्चार माध्यमले सन् २०२६ सम्ममा ह्वाट्सएप स्थायी रूपमा बन्द हुन सक्ने संकेत गरेका थिए।

ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउने यो प्रयाससँगै रुसले अर्को चर्चित एप टेलिग्राममाथि पनि सुरक्षाको कारण देखाउँदै कडाइ गर्न थालेको छ। रुसमा ह्वाट्सएप र टेलिग्राम दुवैका समान संख्यामा प्रयोगकर्ता रहेका छन्।

ह्वाट्सएपले एक विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्तालाई सुरक्षित रूपमा जोडिराख्न हरसम्भव प्रयास गरिरहने बताएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्