बीएनपीका अध्यक्ष तारिक बंगलादेशको नयाँ प्रधानमन्त्री बन्दै



एजेन्सी । बंगलादेशमा मंगलबार नयाँ प्रधानमन्त्रीको शपथग्रहण हुँदैछ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले बहुमतसहित सरकार गठन गर्न लागेको हो ।

पार्टी अध्यक्ष तारिक रहमान अब बंगलादेशको नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ ।

ढाकामा रहेको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई समारोहमा निमन्त्रणा पठाएको समाचारमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले निकालेको वक्तव्यमा लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत–बंगलादेशबीचको गहिरो र दीर्घकालीन मित्रता तथा साझा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उल्लेख छ ।

बंगलादेशी सञ्चारमाध्यमले यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह ढाकामा रहेको राष्ट्रिय संसद परिसरमा आयोजना हुने भएको जनाएका हुन् । नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण मंगलबार बिहान १० बजे र मन्त्रिपरिषद्को शपथ मंगलबारै दिउँसो ४ बजे हुने भनिएको छ ।

३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आंकलन गरिएको छ ।

प्रधानमन्त्री मोदीले चुनावी परिणाम सार्वजनिक भएपछि तारिक रहमानलाई फोन गरी बधाई दिनुभएको थियो । जसलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्