इरान र अमेरिकाबिच परमाणु वार्ता : मार्गदर्शक सिद्धान्तमा सहमति



जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि आफ्नो आणविक कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न अमेरिकासँग मुख्य ‘मार्गदर्शक सिद्धान्त’ मा समझदारी भएको इरानले बताएको छ ।

वार्तामा केही आधारभूत सहमति भए पनि अझै धेरै काम बाँकी रहेको इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए । वार्तामा प्रगति भएको स्वीकार गर्दै अमेरिकी पक्षले पनि थप प्राविधिक विवरणमा छलफल गर्नुपर्ने जनाएको छ ।

यी वार्ताहरू ओमानको मध्यस्थतामा भएको हो । ओमानी विदेशमन्त्री बदर अल्बुसाइदीका अनुसार वार्ता साझा लक्ष्य र प्राविधिक मुद्दा पहिचान गर्ने दिशामा सकारात्मक रूपमा अघि बढेको छ । आगामी दुई हप्ताभित्र इरानले बाँकी मतभेद समाधान गर्न विस्तृत प्रस्ताव ल्याउने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु हतियार विकासतर्फ उन्मुख भएको आशङ्का व्यक्त गर्दै आएका छन् तर तेहरानले यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ । वार्तामा इरानले मुख्य रूपमा आफ्नो आणविक कार्यक्रम र अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने विषय उठाएको बताइएको छ, जबकि वासिङ्टनले क्षेप्यास्त्र विकासजस्ता अन्य मुद्दा पनि समेट्न चाहेको सङ्केत दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए सैन्य परिणाम हुन सक्ने चेतावनी दिएका छन् । त्यसैबिच अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ । जसमा विमानवाहक युद्धपोतहरूको तैनाथी पनि समावेश छ ।

इरानका सर्वोच्च नेता अली खामेनेईले अमेरिकी धम्कीको कडा प्रतिक्रिया दिँदै वार्ताको नतिजा पूर्वनिर्धारित गर्न खोज्नु गलत र मूर्खतापूर्ण हुने बताए । दुवै पक्षले वार्ता जारी राख्ने सहमति जनाए पनि प्रमुख मतभेदहरू अझै समाधान हुन बाँकी छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्