फ्रान्समा दक्षिणपन्थी कार्यकर्ताको हत्या प्रकरणमा ९ जना पक्राउ



वासिङ्टन डीसी । फ्रान्सको दक्षिणपूर्वी शहर लियोँमा एक दक्षिणपन्थी युवा कार्यकर्ताको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । लियोँका सरकारी अभियोजक थियरी ड्रानका अनुसार प्रारम्भमा चार जना र त्यसपछि थप पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

२३ वर्षीय क्वेन्टिन डेरेन्के गत साता लियोँमा आयोजित कार्यक्रममा सहभागी हुन गएका बेला आक्रमणमा परेका थिए । उक्त कार्यक्रममा युरोपेली संसद सदस्य रिमा हसनले सम्बोधन गर्ने तालिका थियो । डेरेन्केलाई वामपन्थी कार्यकर्ताहरूले कुटपिट गरेको आरोप छ, जसका कारण उनको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सीका अनुसार पक्राउ परेकामध्ये छ जना प्रत्यक्ष कुटपिटमा संलग्न रहेको आशङ्का गरिएको छ भने तीन जनाले सहयोग गरेको आरोप लागेको छ । पक्राउ परेकामध्ये सात पुरुष र दुई महिला रहेका छन् । पक्राउ पर्नेहरूमध्ये एक जना ला फ्रान्स इनसोमिज (एलएफआई) दलका सांसद राफाएल अर्नाेका सहयोगी भएको बताइएको छ ।

यस घटनाले फ्रान्सको राजनीतिक वृत्तमा तनाव बढाएको छ । आगामी मार्चमा हुने स्थानीय निर्वाचन र २०२७ को राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा दक्षिणपन्थी र वामपन्थी समूहबिच ध्रुवीकरण तीव्र बनेको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्