निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन



रुपन्देही ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। 

आज बुटवलमा प्रदेशका सुरक्षाअधिकारीहरुको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरूबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिनुभएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । 

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले भारतीय सीमासँग जोडिएको ५१४ किलोमिटर खुला क्षेत्र तराईका ६ जिल्लाको मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग अलग सुरक्षा चुनौती भएपनि सुरक्षा निकायले त्यसलाई रोक्न सक्ने रणनीतिसाथ अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताउनुभयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लागत अवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रमुख सचिव काप्रीका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ । बैठकमा सहभागी तराईको जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूले  प्रमुख साझा चुनौती सीमा क्षेत्र रहेका ५१४ किलोमिटर खुला सीमालाई भारतका अधिकारीसँग समन्वय गर्ने बताउनुभएको थियो । 

बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, मध्यपश्चिम पृतनापछि हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीसहितका सुरक्षा अधिकारीहरूले आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुभएको थियो ।

गण्डकीबाट शुक्रवार साँझ बुटवल आउनुभएका प्रधानमन्त्री कार्की बिहान सुरक्षा अधिकारीको बैठक सकाएर लुम्बिनीको दर्शन गरी काठमाडौँ फर्किनुभएको हो ।  

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्