किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिको ‘अटल र सर्वसम्मत इच्छा’ का आधारमा किम पुनः महासचिव चयन भएका हुन् ।
पार्टी नियम अनुसार सन् २०१६ यता प्रत्येक पाँच वर्षमा आयोजना हुने कङ्ग्रेसले महासचिव चयन गर्दै आएको छ । बयालिस वर्षीय किमले शासनकालमा शीर्ष पद सम्हालिरहेका छन् ।
उनी पहिले पहिलो सचिव, त्यसपछि अध्यक्ष र सन् २०२१ देखि महासचिवको उपाधिमा रहँदै आएका छन् । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उनको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ ।
कङ्ग्रेसको प्रतिवेदनले एसियामा रहेका अमेरिकी सहयोगी र अमेरिकी मुख्य भूमिलाई नै निशाना बनाउन सक्ने क्षेप्यास्त्रसहितको आणविक शस्त्रागारलाई थप सुदृढ गर्ने लक्ष्य औँल्याएको छ ।
पार्टीले विज्ञप्तिमार्फत किमको नेतृत्वमा ‘आक्रमणको कुनै पनि खतरा’ र ‘कुनै पनि प्रकारको युद्ध’ सामना गर्न सक्ने सैन्य शक्ति निर्माण भएको दाबी गर्दै राष्ट्रिय गौरव र आत्मसम्मान बढेको उल्लेख गरेको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















