एमालेको झण्डा जलाउने थप एकजना पक्राउ
सप्तरी । नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।
प्रहरीले फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नम्बर ३ बाट ३१ वर्षीय हरि नारायण मण्डललाई पक्राउ गरेको हो ।
गत फागुन ६ गते राति करिब ९ बजे महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
उक्त भिडियोमा पछाडिबाट उत्तेजित हुँदै पार्टीलाई विभिन्न आरोप लगाउने र अश्लील भाषामा गाली गर्ने व्यक्तिको प्रहरीले पहिचान गरेको हो ।
पक्राउ परेपछि सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलिएको स्वर आफ्नै भएको र आफूले नै गालीगलौज गरेको स्वीकार गरेका छन् ।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार












