बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते
बैतडी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिकास्थित लेक टोलमा चुनावी घरदैलो गर्ने क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा डिलासैनी–७ का एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र माधव धामी घाइते भएका छन् ।
जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको छ । उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रहरीले रास्वपाका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार












