हिसान फुटसलमा वाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमन्ड सेकेन्डरी स्कुल सेमिफाइनलमा
पोखरा । वाराही आवासीय माध्यमिक विद्यालय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल, स्टेप बाई स्टेप सेकेन्डरी स्कुल र डायमन्ड सेकेन्डरी स्कुल पोखरामा जारी चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा जित हासिल गर्दै वाराही, चिल्ड्रेन, स्टेप बाई स्टेप र डायमन्ड सेकेन्डरी स्कुल अन्तिम चारमा स्थान बनाएका हुन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा शनिबार भएको क्वार्टर फाइनल अन्तर्गत वाराही आवासीय माविले न्यू ओएसिस एकेडेमीलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले प्रतिभा सेकेन्डरी स्कुल माथि ६–० को सहज जित हात पार्यो ।
स्टेप बाई स्टेपले फिस्टेल एकेडेमीलाई ८–३ गोलले हरायो भने डायमन्ड सेकेन्डरी स्कुलले बाल कल्याण माविलाई टाई ब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
त्यस्तै, आइतबार बिहान पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाइफले वाराही माविको सामना गर्ने छ भने दोस्रो खेलमा स्टेप वाइ स्टेप र डायमन्ड मावि सेमिफाइनलमा भिड्ने सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगलले बताउनुभयो । त्यस्तै सेमिफाइनलका विजेता टोली भोली नै दिउसो २ बजे हुने उपाधिका लागि भिड्ने छन् ।
त्यसैगरी कलेजतर्फ इन्फरमेटिक्स कलेज, लेक सिटी कलेज, इन्फोम्याक्स र पिसिएम कलेज अन्तिम चारमा स्थान बनाउन सफल रहे ।
कलेज समूहमा इन्फरमेटिक्स कलेजले पोखरा लिङ्कन कलेजलाई २–१ ले पराजित गर्यो । लेक सिटी कलेजले गेन्स कलेजलाई १–० गोलले हरायो भने पिसिएम कलेजले सोच कलेज अफ आइटीलाई समान १–० ले स्तब्ध पार्यो । अर्को खेलमा इन्फोम्याक्सले पोखरा इन्जिनियरिङ कलेजलाई ६–३ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
आइतबार बिहान हुने सेमिफाइनलमा इन्फरमेटिक्सले पिसिएम सँग तथा लेकसिटीले इन्फोम्याक्स विरुद्ध सेमिफाइनलमा भेट पक्का गरेका छन् । विश्वविद्यालयतर्फ फाइनल खेल दिउसो १ बजे हुने छ ।
प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा (विश्वविद्यालय)कलेजतर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको हिसान गण्डकीका अध्यक्ष डा.रामजी शर्माले बताउनु भयो । प्लस–२ समूहमा कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेका थिए ।
प्रतियोगिताको प्लस–२ तर्फ विजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै विश्वविद्यालय तथा कलेजतर्फ विजेताले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । अघिल्लो संस्करणमा प्लस–२ तर्फ गुरुकुल विद्या सदन तथा कलेजतर्फ इन्फरमेटिक्स कलेजले उपाधि जितेका थिए ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार
















