अमेरिकाद्वारा पाकिस्तानी दूतावासका कर्मचारीलाई बाहिरिन निर्देशन



एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानमा कार्यरत आफ्ना सरकारी कर्मचारीलाई त्यहाँबाट प्रस्थान गर्न आदेश दिएको छ।

मन्त्रालयले सुरक्षा जोखिम बढेको मूल्यांकनपछि अमेरिकी दूतावास, इस्लामाबादसँग सम्बद्ध कर्मचारी, साथै अमेरिकी वाणिज्य दूतावास, लाहोर र अमेरिकी वाणिज्य दूतावास, कराचीका कर्मचारी तथा उनीहरूका परिवारलाई पाकिस्तान छोड्न निर्देशन दिएको छ।

यसअघि नै विभागले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरूको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।

यसैबीच विभागले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवश्यक सहयोग गर्न कदम चालेकोसमेत जानकारी दिएको छ ।

पछिल्ला केही दिनमा ९ हजारभन्दा बढी अमेरिकी नागरिकहरू मध्यपूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किनेहरू मात्र ३ सयभन्दा बढी छन् ।

यसै सन्दर्भमा जेनेभामा अमेरिकी प्रतिनिधिहरूले आणविक सम्झौतासम्बन्धी विषयमा इरानसँग छलफल गरेको दुई दिनपछि संयुक्त राज्य अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेका थिए। उक्त घटनाक्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको उल्लेख गरिएको छ।

त्यसपछि इरानले मध्यपूर्व क्षेत्रमा प्रतिआक्रमण विस्तार गरेको बताइएको छ। मंगलबार संयुक्त राज्य अमेरिका र इजरायलद्वारा तेहरानका प्रमुख संरचनामा आक्रमण गरी क्षति पुर्‍याइएको तथा अमेरिकी वाणिज्य दूतावाससमेत निशानामा परेको जनाइएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्