इरानका नयाँ सर्वोच्च नेता बने मोज्तबा खामेनी
एजेन्सी । इरानका नयाँ सर्वोच्च नेतामा मोज्तबा खामेनीलाई चयन गरिएको छ । उनी अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा हुन् ।
विगतमा आफ्नो बुवालाई सधैँ पर्दा पछाडि रहेर काम गर्न रुचाउने व्यक्ति ५६ वर्षीय मोज्तबाले अहिलेसम्म कुनै पनि सरकारी पद सम्हालेका थिएनन् । उनका सार्वजनिक रूपमा भाषण वा अन्तर्वार्ता पनि खासै देखिँदैनन् ।
सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ।
यद्यपि, उनको छनोट विवादरहित भने पक्कै छैन। सन् १९७९ मा राजतन्त्रको अन्त्य गर्दै स्थापना भएको इस्लामिक गणतन्त्रको मुख्य विचारधारा नै सर्वोच्च नेता वंशानुगत रूपमा नभई उसको धार्मिक हैसियत र प्रमाणित नेतृत्व क्षमताका आधारमा छनोट हुनुपर्छ भन्ने हो ।
सर्वोच्च नेता छनोट गर्ने निकाय एसेम्बली अफ एक्सपट्र्सका एक सदस्यले दुई वर्षअघि मात्रै अली खामेनीले आफ्ना छोरालाई भावी नेतृत्वको उम्मेदवार बनाउने विचारको विरोध गरेको बताएका थिए। तर, यस्ता अनुमानहरूबारे उनले सार्वजनिक रूपमा कहिल्यै सम्बोधन गरेका थिएनन्।
मोज्तबा खामेनीको जन्म सन् १९६९ सेप्टेम्बर ८ मा उत्तरपूर्वी सहर मशादमा भएको हो। खामेनीका ६ सन्तानमध्ये उनी दोस्रो हुन्। उनले तेहरानको धार्मिक अलावी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















