कालिकोटको सडक योजनामा अनियमितता आरोप, पूर्व उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाको सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा–लेखनवाडा कार्यालय–दुर्सी फागोटी सडक निर्माण का लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। योजना कार्यान्वयनपछि उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।
तर अख्तियारको प्राविधिक टोलीले गरेको स्थलगत नापजाँचमा कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख गरिएभन्दा कम काम भएको पाइएको छ। प्रतिवेदनमा १,२०० घनमिटर ग्याविन जालीसहित ढुङ्गा भरिएको उल्लेख भए पनि वास्तविक रूपमा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको आयोगले जनाएको छ।
आयोगका अनुसार २६०.५० घनमिटर काम बढी देखाएर झुट्टा बिल तथा भरपाई तयार गरी ८ लाख ८ हजार ६८० रुपैयाँ बराबरको अनियमित भुक्तानी गरिएको पाइएको छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सव–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, वडा नम्बर ९ का अध्यक्ष टक्कबहादुर बम तथा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
Provide your feedback on BizChat
अनियमितताको प्रमाण के थियो?
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार







