इरानको बुशेहर परमाणु केन्द्रबाट आफ्ना कर्मचारी हटाउँदै रुस
तेहरान । रुसले इरानस्थित बुशेहर परमाणु विद्युत् केन्द्रमा काम गरिरहेका आफ्ना कर्मचारी र तिनका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ ।
रुसको सरकारी परमाणु ऊर्जा निगम रोसातोमले दोस्रो चरणमा थप कर्मचारी र परिवारका सदस्यलाई रुस फर्काउने योजना बनाएको जनाएको छ ।
रुसको सरकारी समाचार संस्था तासका अनुसार रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले स्ट्राना रोसाटोम पत्रिकासँग कुरा गर्दै छिट्टै उनीहरूलाई सुरक्षित स्थानमा सारिने बताएका हुन् ।
लिखाचेभका अनुसार बुशेहर परमाणु विद्युत् केन्द्रको दोस्रो र तेस्रो युनिट निर्माणमा ६०० भन्दा बढी रूसी कर्मचारीहरू संलग्न छन् । उनले भने, ‘हालको परिस्थितिमा हाम्रो पहिलो प्राथमिकता बुशेहर परमाणु केन्द्रमा काम गरिरहेका रूसी कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नु हो ।’ मध्यपूर्वमा बढ्दो तनावका कारण केन्द्रमा भइरहेको मुख्य निर्माण कार्य अस्थायी रूपमा रोकिएको रोसाटोमले जनाएको छ । यद्यपि केही कर्मचारी भने उपकरणको मर्मत–सम्भार र तत्काल रोक्न नसकिने काम सम्पन्न गर्न साइटमै कार्यरत रहेका छन् ।
रोसाटोमका प्रमुखका अनुसार अहिले दोस्रो चरणको कार्यबल व्यवस्थापन योजनाअन्तर्गत कर्मचारीका परिवारका सदस्य तथा केही प्राविधिकलाई रुस फर्काउने तयारी पूरा भइसकेको छ । बुशेहर आणविक ऊर्जा केन्द्र इरानको प्रमुख परमाणु ऊर्जा परियोजनामध्ये एक हो, जसको विस्तार परियोजनामा रूसी प्राविधिकहरूको ठुलो संलग्नता रहेको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















