एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन हुने अध्यक्ष डा. केसीको दाबी



काठमाडौँ, २९ फागुन। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भोलिदेखि सुरु हुने १२ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने दाबी गरिएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले नेतृत्व चयनमा सहमतिको प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

अध्यक्ष डा. केसीले संस्थाभित्रका सबै विमति अन्त्य भएको उल्लेख गर्दै अध्यक्षलगायतका महत्त्वपूर्ण पदहरूमा सर्वसम्मति हुने विश्वास व्यक्त गर्नुभयो । “सबै विमतिहरू टुङ्गिएका छन्, यो एकताको सुरुआत मात्र हो,” उहाँले भन्नुभयो, “जसरी गैरआवासीय नेपाली सङ्घको जन्म भएको थियो, अब यसको पुनर्जन्म भएको छ । सबैलाई अपनत्व हुने गरी संस्था अगाडि बढ्नेछ ।”

अध्यक्ष डा. केसीका अनुसार अध्यक्ष पदका तीन जना प्रत्यासीमध्ये दुई जनाबीच सहमति भइसकेको छ भने तेस्रो प्रत्यासीसँग पनि वार्ता सकारात्मक रूपमा अघि बढेको छ । सहमतिका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । “हामी सायद निर्वाचन गर्दैनौँ होला, सबै पदाधिकारीलाई समेटेर अघि बढ्नेछौँ,” उहाँले थप्नुभयो, “केही पदमा सहमति नभए मात्र निर्वाचनको विकल्पमा जाने गरी गृहकार्य भइरहेको छ ।”

सङ्घको एकतालाई बलियो बनाउन सर्वसम्मत नेतृत्वलाई नै पहिलो प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने कार्यक्रम तय भइसकेको छ । सङ्घले यो महाधिवेशनलाई आपसी मनमुटाव बिर्सिएर मातृभूमि नेपालको समृद्धिमा जुट्ने साझा मञ्चको रूपमा व्याख्या गरेको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्