स्कारपियोले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ११ घाइते
मलङ्गवा । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
शुक्रबार साँझ बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको हो ।
स्कारपियोको ठक्करबाट बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गा मगरको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घाइते हुनेहरूमा रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई नगरपालिका–११ निवासी विकास पटेलकी श्रीमती करिब ४५ वर्षीया बन्धना पटेल, बरहथवा–१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय छन् ।
त्यसैगरी बरहथवा–७ निवासी २३ वर्षीय चन्दन पासवान, बरहथवा–१० निवासी १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी श्रीमती ४५ वर्षीया गुलाबकुमारी मण्डल घाइते भएका छन् । उनीहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका–१२ लौकठ ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार
















