पार्टीले गरेका काम र घटनाक्रम जनतासम्म पुर्‍याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको एमालेकाे निष्कर्ष



भक्तपुर ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्‍याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव सचिव लेखराज भट्टले पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा पार्टीप्रति जनमत प्रतिकूल बन्दै गएको बुझाइ बैठकमा ब्यक्त भएको बताउनुभयो । 

ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो? र पार्टीमाथि कसरी आक्रमण भयो? भन्ने कुरा हामीले जनतामाझ लैजान नसक्दा हार बेहोर्नुपरेको उहाँको भनाई छ ।

उपमहासचिव भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको थियो । उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको ठहर पार्टीले गरेको छ । 

“एमाले र नेतृत्वप्रति आक्रमण भयो, त्यसले एउटा खालको भ्रम पैदा गर्‍यो र त्यही भाष्यले हाम्रो विपरीत जनमत बन्यो भन्ने पार्टीको बुझाइ बनेको छ”, उहाँले भन्नुभयो ।

पार्टीका पदाधिकारी तहमा दोहोरो विवाद चलेको विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवाद भएको जानकारी नभएको बताउनुभयो । “म त भर्खरै हिजो राति मात्रै आएको हुँ, मैले त्यति बुझ्या छैन । कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन”, उहाँले भन्नुभयो ।पार्टीका आगामी बैठकमा निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने उहाँले जानकारी दिनुभयो ।

शोक प्रस्ताव पारित

बैठकले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयाघातका कारण निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारको क्रममा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष खगेन्द्र राईको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

अध्यक्ष ओली पितृ शोकमा रहँदा पनि बैठक बोलाई राजनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। व्यक्तिगत शोकका बाबजुद अध्यक्ष ओली सेतो फेटा र वस्त्रमा बैठकमा सहभागी हुनुभएको थियो।

नेकपा (एमाले)को सचिवालय बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गर्नुभएको थियो।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्