आयोगलाई समानुपातिक सांसदको नाम पठाउने आज अन्तिम दिन
काठमाडौं, चैत १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची अनुसार नाम पठाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आज (आइतबार) सकिंदैछ ।
दलहरुले आज समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटका लागि निर्वाचित हुने सांसदको नाम छानेर आयोगलाई बुझाउनुपर्नेछ ।
समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएको छ ।
एमालेले शनिबार नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको छ । दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रम अनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ ।
दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कूल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार
















