रास्वपाले नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिने
काठमाडौँ, चैत २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।
जसका लागि रास्वपाले दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न यो प्रशिक्षण कार्यक्रम तय गरिएको हो । पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ ।
संसद्मा पार्टीको उपस्थिति प्रभावकारी बनाउन र जनसरोकारका मुद्दाहरूलाई कसरी उठाउने भन्ने विषयमा विज्ञहरूले सांसदहरूलाई प्रशिक्षण दिने योजना रहेको छ ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार
















