सर्वोच्चका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी, आचारसंहिता उल्लङ्घन गरेको आरोप



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी पुगेको छ।

न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाइ गरेको भन्दै युवराज पौडेल (सफल)ले न्यायपरिषद् उजुरी दिएका हुन्।

यद्यपि उजुरी दर्ता भने भइसकेको छैन। यसबारे परिषदका सचिव जितेन्द्रबाबू थपलियाले प्रधानन्यायाधीश समेत रहेका अध्यक्ष प्रकाशमान सिंह राउतसँग परामर्श गरेर मात्रै दर्ता गर्ने छन्।

न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ को उप दफा ४।५ को ९ग० ले विपरीत काम गरेको उजुरीमा उल्लेख छ । यो दफामा विवादित विषयमा न्यायाधीशले पहिले कानून व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा रहेको भएमा मुद्दाको सुनुवाइ गर्न नहुने उल्लेख छ।

अहिले पोखरेलको इजलासमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा संशोधन गर्ने महान्याधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ भइरहेको छ।

लामिछानेमाथिको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयविरुद्ध परेको रिट हिजो पोखरेल र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो।

तर पक्षको आग्रह विपरीत सुनुवाई अघि बढेको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। सो मुद्दामा सोमबार पनि सुनवाईले निरन्तरता पाउने भएपछि पौडेल उजुरी बोकेर परिषद पुगेका हुन्।

न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्सान, नागरिकता, पासपोर्ट जस्ता मुद्दामा वकिलको रूपमा काम गरेका थिए । न्यायाधीश भएपछि रविविरुद्ध लागेका मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत भए पनि त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्