निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचितको सूची सार्वजनिक



काठमाडौं, २ चैत । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । १६५ जना सांसद भने प्रत्यक्ष निर्वाचित हुन्छन् ।  फागुन २१ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित भइसक्नुभएको छ । 

सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । 

यसैगरी, नेपाली काँग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार/चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका  थिए ।

आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक (नामावली)

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्