समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र दिइने



काठमाडौं, चैत्र ३ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार निर्वाचित सांसदहरुलाई यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।

राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्