बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेपछि फरार



सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेपछि फरार भएका छन्।

मधुवन नगरपालिका–५, रातामाटेस्थित आधारभूत विद्यालयमा कार्यरत शिक्षक यामप्रसाद शर्मामाथि बाल यौन दुराचारको आरोप लागेपछि फरार भएका हुन्। शर्मामाथि आफ्नै नाम परिवर्तन विद्यार्थी हरिकलासँग यौन दुराचार गरेको आरोप लागेको हो।

पीडित बालिकाका अनुसार होस्टेलमा बसेर अध्ययन गरिरहेको बेला स्वास्थ्य समस्या भएपछि शिक्षकले घर पुर्‍याएर फर्कने क्रममा दुर्व्यवहार गरेका हुन्। मोटरसाइकल स्ट्यान्डमा रोकेपछि शिक्षकले जबरजस्ती गर्न खोजेको उनले बताइन्।

पीडित बालिका र उनका परिवारले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय ढोढरीमा जाहेरी दिएका छन्। जाहेरीमा शिक्षकले घटनाअघि र पछि पनि फोनमार्फत अश्लील कुरा गर्ने तथा अनुचित आशय राख्ने गरेको उल्लेख गरिएको छ।

विद्यालयले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष नबुझाई आन्तरिक रूपमा हटाउने निर्णय गरेको जनाइएको छ। तर प्रहरी विद्यालय पुग्दा शिक्षक फरार भइसकेका थिए।

विद्यालयका प्रधानाध्यापक पर्शुराम चौधरीका अनुसार आरोपी शिक्षक गत जेठदेखि राहत दरबन्दीमा करारमा कार्यरत थिए। शिक्षकविरुद्ध विभिन्न गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले उनलाई हटाउने निर्णय गरी नगरपालिकामा जानकारी गराइएको उहाँले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बाल यौन दुराचार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आरोपित शिक्षक फरार रहेकाले खोजी कार्य जारी छ।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्