आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
वायूको प्रभावले अहिले कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । बाँकी भूभागमा मौसम मुख्तया सफा रहेको छ ।
आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















