प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत्र १३ पछि मात्रै हुने
काठमाडौं, चैत्र ४ । संघीय संसद् सचिवालयले यही चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ ।
निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयले तयारी गरेको हो ।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले शपथग्रहण गर्नुअघि नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गर्नुपर्ने छ । ज्येष्ठ सदस्यले शपथग्रहण गरेपछि मात्रै अन्य सदस्यको शपथग्रहण हुने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
नेपालको संविधान २०७२ को धारा ९१ (५) ले प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















