पितृ शोकमा रहेका ओली भेट्न गुण्डु पुगे रास्वपाका उपसभापति अर्याल
काठमाडौं। पितृ शोकमा रहेका एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले समवेदना दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका अर्याल आज ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका हुन्।
ओलीका पिता ९७ वर्षीय मोहनप्रसाद ओलीको केही दिनअघि निधन भएको थियो ।
अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहन प्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा उनले शोकग्रस्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन शीर्ष नेताहरु ओली निवास गुण्डु पुगिरहेका छन् ।
मंगलबार निवासमै पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले ओली र परिवारलाई समवेदना दिएका थिए ।
केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत निवासमै पुगेर ओलीलाई समवेदना दिएका थिए।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार
















