कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँमाथि गोली चलाए
धनगढी, चैत्र ५ । कैलालीमा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले आफूमाथि पनि गोली चलाएका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् ।
जंगलमा बाख्रा चराउने क्रममा श्रीमान–श्रीमतीबीच विवाद हुँदा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकबाट गोली हानी श्रीमतीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफूमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार
















