समानुपातिक सांसदहरूलाई आज प्रमाणपत्र दिइने
काठमाडौं, चैत्र ५ । निर्वाचन आयोगले आज (बिहीबार) प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।
आयोगले १ सय १० जना समानुपातिक सांसदहरूलाई बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र दिन लागेको हो ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २०, नेकपा (एमाले)बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना निर्वाचित भएका छन् । ६ दलबाट ११० जना सांसदहरू निर्वाचित भएका छन् ।
प्रत्यक्षतफका सांसदहरूले मतपरिणाम आएसँगै निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । आयोगले त्यसपछि निर्वाचनको प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने छ । राष्ट्रपति कार्यालयले सोको जानकारी संघीय संसद्को सचिवालयलाई जानकारी गराउनेछ ।
्
नवनिर्वाचित सांसदहरूको शपथ भने चैत १२ गते हुने भएको छ । सचिवालय भोलि शुक्रवार शपथ ग्रहणसम्बन्धी सूचना निकाल्ने तयारी अघि बढाएको छ । यस विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने पनि सचिवालयले जनाएको छ ।
यसअघि संसद्का ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचित सांसदहरूमध्ये नेपाली कांग्रेसबाट समानुपातिकतर्फका निर्वाचित सांसद अर्र्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेको बुुझिएको छ । उनी ७८ वर्षका छन् । उनले नै बाँकी सांसद्हरूलाई शपथग्रहण गराउनेछन् ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार
















