एन्फालाई अध्यागमनको निर्देशन- पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा नखेलाउनु



काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशीहरूलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको छ ।

विभागले आज पत्र जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई यस्तो निर्देशन दिएको हो ।

हाल एन्फा अन्तर्गत चलिरहेको महिला र पुरुष लिगमा केही क्लबहरूले पर्यटक भिसामा आएका विदेशी खेलाडी राखेको भन्दै विभागमा उजुरी परेको थियो ।

अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।

सोहि अनुसार विभागले आजदेखि नै अनुगमन सुरु गरेको जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने चेतावनी दिएको छ ।

साथै कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन एन्फालाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्