बिहानैदेखि बिपी राजमार्गमा अवरुद्ध
काभ्रेपलाञ्चोक, चैत्र ७ । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख सुनिल धाँजूले जानकारी दिए । उनका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने छ ।
उक्त क्षेत्रमा गतवर्ष बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो ।
यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भने सुरु गरिएको उनले बताए ।
यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार
















