कलाम अली र वसन्त शाही नेपाली टिमको सहायक प्रशिक्षक



ललितपुर। कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्। कलाम र वसन्तलाई सहायक प्रशिक्षक नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।

कलाम यसअघि नेपाल ‘ए’ को प्रशिक्षक थिए। यस्तै वसन्त भने यसअघि पनि नेपालको सहायक प्रशिक्षक भइसकेका थिए। नेपाल र यूएईबीच हुन लागेको टी–२०आई सिरिज र आगामी डब्लु सिएल २ सिरिजको पूर्व सन्ध्यामा क्यानले दुई सहायक प्रशिक्षक नियुक्त गरेको हो।

कलाम अली पीएम कप क्रिकेटमा बागमती प्रदेश र एनपीएलको दोस्रो संस्करणमा चितवन राइनोजका मुख्य प्रशिक्षक थिए। यसैगरी वसन्त शाही पीएम कपमा लुम्बिनी प्रदेशका प्रशिक्षक थिए भने एनपीएलमा काठमाडौं गोर्खाजको सहायक प्रशिक्षक थिए।

नेपाली टिमको सहायक प्रशिक्षक रहेका ज्ञानेन्द्र मल्लले राजीनामा दिएपछि केही समय नेपाली टिममा सहायक प्रशिक्षक थिएन। पूर्व कप्तान समेत रहेका मल्ल रास्वपामार्फत राजनीतिमा होमिएका छन्। फागुन २१ के निर्वाचनमा समानुपातिक सूचीमा परेपनि उनी सांसद भने हुन सकेनन्।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्