यूएईसँग नेपालको हार, आज दोस्रो खेल



काठमाडौँ, ८ वैशाख। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो। खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डीएल मेथड’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो। जबाफमा युएईले ८।५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

यूएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रनको बनाए। त्यस्तै अलीशान शरफुले १८ रन बनाए भने अक्षदिप नाथले अविजित १७ रन जोड्दै टोलीलाई जित दिलाए। नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै कुशल मल्लले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८।५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए। कुशल मल्लले १७ रन, कुशल भुर्तेलले १६ रन तथा बासिर अहमदले १४ रनको योगदान दिए। अन्त्यतिर नन्दन यादवले २ छक्कासहित १३ रन जोड्दै स्कोर उकासेका थिए।

यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट हात पारे। नेपालको इनिङ्सपछि वर्षा सुरु भई खेल रोकिएको थियो।

यससँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ। अब भोलि नेपाल र युएईबीचको दोस्रो खेल हुनेछ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्