विश्वकप लिग २ : चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग भिड्दै नेपाल



काठमाडौँ, १२ वैशाख। आईसीसी विश्वकप लिग २ अन्तर्गत छैटौं शृंखलाको पहिलो खेलमा आज नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ। सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको आधार मानिएको यो प्रतियोगिता नेपाल र युएई दुवैका लागि निकै चुनौतीपूर्ण बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९स्१५ बजे सुरु हुने यस खेलमा दुवै टोली तालिकाको पुछारबाट माथि उठ्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। हालसम्म २० खेल खेलेको नेपाल १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ भने युएई १० अंकसहित पुछारमा रहेको छ।

नेपालका लागि यो शृंखला विश्वकप छनोटका लागि मात्र नभई आफ्नो एकदिवसीय वरियता जोगाउन पनि उत्तिकै महत्त्वपूर्ण छ। लिग २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने प्रावधान छ भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

दुई महिनाअघि अमेरिका र वेस्ट इन्डिजमा भएको टी २० विश्वकपमा सुखद उपस्थिति जनाए पनि ५० ओभरको संरचनामा नेपाल र युएई दुवैले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। त्यसैले आजको खेलबाटै जितको लय समात्नु दुवै टोलीका लागि अनिवार्य जस्तै बनेको छ।

नेपालका लागि युएई पछिल्लो समय कठिन प्रतिद्वन्द्वी सावित हुँदै आएको छ। सन् २०२३ को जुलाईमा हराएयता नेपालले युएई विरुद्ध जित निकाल्न सकेको छैन। अघिल्लो वर्ष अक्टोबर र नोभेम्बरमा युएईमै भएको लिग २ का दुवै खेलमा नेपाल पराजित भएको थियो।

यद्यपि, घरेलु मैदान र समर्थकको साथ पाउँदा नेपाल सधैं बलियो देखिने गरेको छ। विगतमा पनि यस्तै कठिन परिस्थितिमा अन्तिम १२ मध्ये ११ खेल जितेर चमत्कारिक नतिजा निकालेको इतिहास नेपालसँग छ, जसलाई दोहोर्याउने दाउमा टोली रहेको छ।

यस शृंखलामा नेपाल र युएईसँगै ओमान पनि सहभागी छ। ओमान २४ खेलबाट २९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा मजबुत अवस्थामा छ। ओमानले अघिल्लो पटक काठमाडौं आउँदा नेपाल र अमेरिकालाई ‘क्लिन स्विप’ गरेको थियो।

तर, शुक्रबार मात्रै अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले ओमानलाई ११५ रनले पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च देखिन्छ। आफ्नो ओडीआई मान्यता जोगाउन र विश्वकपको यात्रा जीवित राख्न नेपालले घरेलु मैदानको फाइदा उठाउँदै आजको खेलमा स्पष्ट जित निकाल्नुपर्ने दबाब छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्