हिजबुल्लाहविरुद्ध ‘कडा आक्रमण’ गर्न नेतन्याहुको आदेश



वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सेनालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध कडा रूपमा आक्रमण गर्न निर्देशन दिएका छन् । यो आदेश युद्धविराम तीन हप्ताका लागि थपिएको दुई दिनपछि आएको हो ।

यस निर्देशनपछि दक्षिणी लेबनानमा नयाँ इजरायली आक्रमणहरू भएका छन् । शनिबार भएका हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलको सेनाले उक्त आक्रमणमा हतियार बोकेको गाडीमा रहेका तीन जना हिजबुल्लाह सदस्य र मोटरसाइकलमा रहेका अर्का एक सदस्यलाई मारिएको दाबी गरेको छ । साथै लितानी क्षेत्रमा थप दुई जना लडाकु मारिएको बताइएको छ ।

दुवै पक्षबिच सीमा क्षेत्रमा भइरहेको आक्रमण–प्रत्याक्रमणले युद्धविरामलाई कमजोर बनाएको छ । पूर्ण रूपमा शान्ति नभए पनि सम्झौतापछि हिंसा केही घटेको थियो । यो युद्धविराम वासिङ्टनमा भएका वार्तापछि बिहीबार थप गरिएको थियो ।

हिजबुल्लाहले भने इजरायली आक्रमणको जवाफस्वरूप दक्षिणी लेबनानमा इजरायली सैन्य सवारीलाई लक्षित गरेको जनाएको छ । इजरायलले दक्षिणी लेबनानको केही भाग अझै आफ्नो नियन्त्रणमा राखेको र त्यहाँ ठूलो स्तरमा संरचना ध्वस्त पार्ने कार्य जारी राखेको छ ।

यसैबिच पत्रकारहरूमाथि भएका आक्रमणप्रति अन्तर्राष्ट्रिय सञ्चार अधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन् । बुधबारको एक आक्रमणमा एक पत्रकारको समेत मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्