ओमानविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले बलिङ गर्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो ।
युएईविरुद्धको खेलबाट नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। मुख्य प्रशिक्षक स्टुआर्ट ल ले ललित राजवंशीको स्थानमा गुल्सन झालाई प्लेइङ ११ मा ल्याएका छन् ।
नेपाल शृंखलामा लागातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । यस्तै घरेलु टोलीविरुद्ध मैदान उत्रदा ओमान सिरिजमा पहिलो जितको खोजीमा छ ।
सिरिजको आफ्नो पहिलो खेलमा ओमान भने युएईसँग २५ रनले पराजित भएको थियो । लिगको २१ खेलमध्य ६ खेलमा जित, १३ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेपाली टोली १४ अंकमा तालिकाको सातौँ स्थानमा छ।
लिग २ मा २५ खेल खेलेको ओमानले १३ खेलमा जित, ९ खेलमा हार र ३ खेलमा अंक बाँड्दै २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार
















