अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचार समेत नराखी हटाएकोमा स्तब्ध छु : पूर्णबहादुर खड्का



काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन गर्ने शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचार समेत नराखी, पूर्व जानकारीबिना नै हठात् हटाइएको भन्दै उनले आफू स्तब्ध भएको बताएका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खड्काले पार्टीभित्रको यो पछिल्लो विकास क्रमलाई शुभ संकेत नभएको टिप्पणी गरेका छन् ।

खड्काले राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनयन गर्ने वा परिवर्तन गर्ने अधिकार विधानतः संसदीय दलको नेतालाई भएको कुरामा आफू प्रस्ट रहेको उल्लेख गर्दै निर्णय लिने प्रक्रिया र समयप्रति उनले आपत्ति जनाएका हुन् । ‘देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिएको र पार्टी विवादको दलदलमा फसेको यस्तो संवेदनशील अवस्थामा सम्पूर्ण एकताको पहल गर्नु पर्ने जिम्मेवारीमा भएकाहरूबाटै यस्तो निर्णय भयो,’ खड्काले लेखेका छन्, ‘एक अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचार समेत नराखी, पूर्व जानकारी नदिई हठात् हटाउने निर्णय गरिएको जानकारी पाउँदा म स्तब्ध छु ।’

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्