युक्रेन र इरान युद्धबारे ट्रम्प र पुटिनबीच वार्ता, के भयो कुराकानी ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध र इरानमा जारी तनावका विषयमा महत्वपूर्ण वार्ता भएको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पुटिन इरानमा जारी द्वन्द्व समाधानका लागि सहयोग गर्न इच्छुक रहेको बताए ।
तर, उनले प्राथमिकता युक्रेन युद्ध अन्त्यलाई दिएको स्पष्ट पार्दै भने, ‘मैले पुटिनलाई प्रष्ट भनेको छु—मेरो सहयोग गर्नुअघि तपाईंको युक्रेनसँगको युद्ध अन्त्य भएको हेर्न चाहन्छु।’
ट्रम्पका अनुसार वार्ताका क्रममा पुटिनले इरानको ‘युरेनियम’ संवर्धन प्रक्रियामा संलग्न हुने इच्छा व्यक्त गरेका थिए।
‘यदि उहाँले सम्झौता गराउन मद्दत गर्नुभयो भने, इरानको एनरिचमेन्ट प्रक्रियामा सहभागी हुन चाहनुहुन्छ,’ ट्रम्पले भने, ‘तर मेरो प्राथमिकता युक्रेन युद्ध रोकिएको देख्नु हो।’
इरानको आणविक कार्यक्रमबारे कडा धारणा राख्दै ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार सम्पन्न हुन नदिने दोहोर्याए। “हामी इरानलाई आणविक हतियार राख्न दिँदैनौँ, र उनीहरूलाई यो कुरा राम्ररी थाहा छ,” उनले भने।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार
















