विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै



काठमाडौँ,२२ वैशाख। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै छ।

संयुक्त अरब इमिरेट्स (यूएई) पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो। यी दुई टोली बीचको खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ। यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल यूएईविरुद्ध प्राप्त गरेको थियो।

नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

आठ राष्ट्र सहभागी लिग २ मा नेपाल सातौँ स्थानमा छ। नेपालले २३ खेलमा १६ अंक बनाएको छ।

ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ। नेपाललाई आगामी एकदिवसीय विश्वकपको ग्लोबल चयनमा स्वतः चयन हुन शीर्ष चारमा रहन जरुरी छ।

यस शृङ्खलामा तीन जित प्राप्त भएमा नेपालले अर्को हप्ता घरेलु मैदानमै सुरु हुने लिग २ का लागि मनोबल उच्च पार्ने छ।

सो शृङ्खलामा अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका अमेरिका र स्कटल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्