आईपीएलमा मुम्बईको जित, हारले पुछारमा धकेलियो लखनउ



काठमाडौँ, २२ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले अर्को हार बेहोरेको छ।

प्रतियोगितामा लगातार छैटौं हार बेहोर्ने क्रममा सोमबार राति मुम्बईमा सम्पन्न खेलमा लखनउ घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङमा चुक्दा लखनउ पराजित हुन पुग्यो।

लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बई ८ बल बाँकी रहदै मात्र ४ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा ओपनर रोहित शर्माले ४४ बलमा ६ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए।

पहिलो विकेटका लागि रोहितले अर्का ओपनर रायन रिकल्टनसँग मिलेर ६५ बलमा १४३ रनको शतकीय साझेदारी गरे। रिकल्टन ३२ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ८३ रनको अर्धशतकीय इनिङ खेल्दै पेभेलियन फर्किए।

नमन धिर २३ रनमा अविजित रहँदा कप्तान सुर्यकुमार यादव १२ तथा तिलक बर्मा ११ रनमा आउट भए। लखनउका लागि मनिमरन सिद्धार्थले २ तथा मोहम्मद सामी र मोसिन खानले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रनको योगफल तयार गरेको थियो। लखनउका लागि निकोलस पुरनले २१ बलमा १ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

ओपनर मिचेल मार्श २५ बलमा ४४, कप्तान रिषभ पन्त १५ तथा जोश इग्लिस १३ रनमा आउट हुँदा हिम्मत सिंह ४० तथा एडेन मारक्रम ३१ रनमा अविजित रहे । मुम्बईका लागि कोर्बिन बोसले २ तथा अल्लाह गजान्फर, विल ज्याक्स र रघु शर्माले समान १ विकेट लिए।

जित पछि मुम्बई १० खेलमा ६ अंक साथ तालिकाको पुछारबाट नवौं स्थानमा उक्लिएको छ। पराजित लखनउ भने ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्