एनटीसीको नयाँ प्रिपेड ई–सिम अनलाइनबाटै लिन सकिने



काठमाडौँ। नेपाल टेलिकम (एनटीसी) को नयाँ प्रिपेड ई–सिम अनलाइनबाटै लिन सकिने भएको छ।

यससँगै सिम लिन ग्राहक स्वयम् नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटेको हो।

यसका लागि नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले सबैभन्दा पहिला  esim.ntc.net.np मा लगइन गरी त्यहाँ रहेको  Get New Prepaid eSIMमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि दिइएको निर्देशन अनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

यति गरिसकेपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात् ई–सिमको क्यूआर कोड प्राप्त हुन्छ। उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ।

वेबसाइटमा यसअघिदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ। नयाँ भौतिक सिम लिनका लागि आवश्यक फाराम भर्न र ग्राहक विवरण अर्थात् केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्