मेटलाइफ नेपाल र खल्ती सुरक्षाद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक



काठमाडौं, १ जेठ । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक नयाँ डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् ।

यो योजना अब खल्ती एपमार्फत उपलब्ध हुने भएको छ, जसले प्रयोगकर्तालाई छिटो, सरल र सहज रूपमा जीवन तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न सहयोग गर्ने कम्पनीहरूले बताएका छन् ।

कम्पनीका अनुसार ‘सुरक्षा ३६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया न्यून गर्दै मोबाइलमै बीमा सेवा उपलब्ध गराउने उद्देश्यसहित योजना ल्याइएको जनाइएको छ ।

यस योजनाले जीवन र स्वास्थ्यसँग सम्बन्धित विभिन्न बीमा सुरक्षण एउटै प्याकेजमा समेटेको छ । योजनाअन्तर्गत जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा र दुर्घटनाजन्य उपचार खर्चसमेत समावेश गरिएको छ ।

‘सुरक्षा ३६०’ सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्याकेजमा उपलब्ध हुनेछ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार यस योजनामार्फत २३ लाख रुपैयाँदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध हुनेछ ।

योजनाको वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरी ल्याइएको यो योजना व्यापक बीमा सुरक्षणलाई थप पहुँचयोग्य र किफायती बनाउने अपेक्षा गरिएको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने बताए । उनले डिजिटल माध्यममार्फत बीमा सेवा सरल बनाउँदै अझ धेरै नेपालीलाई वित्तीय सुरक्षाप्रति सचेत बनाउने उद्देश्य रहेको उल्लेख गरे ।

मेटलाइफ विश्वव्यापी रूपमा बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्ने प्रमुख वित्तीय सेवा प्रदायक कम्पनीमध्ये एक हो । सन् १८६८ मा स्थापना भएको कम्पनी हाल विश्वका ४० भन्दा बढी बजारमा सक्रिय रहेको छ ।

त्यसैगरी, खल्ती सुरक्षा खल्ती अन्तर्गतको बीमा सेवा हो, जसले नेपाली ग्राहकलाई डिजिटल माध्यमबाट सरल, सहज र किफायती बीमा समाधान उपलब्ध गराउँदै आएको छ । खल्ती एपमार्फत प्रयोगकर्ताले बीमा योजना हेर्न, तुलना गर्न र खरिद गर्न सक्ने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार