नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौँ, १३ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरिकुमार नेपालले बीमा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र त्यसको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, संस्थापक तथा आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तहका कर्मचारी र विभागीय प्रमुखहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रशिक्षक डा. नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (केवाईसी), शंकास्पद कारोबारको पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताउनुभयो । प्रभावकारी अनुपालनले संस्थालाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नियामकीय आवश्यकतालाई नीतिगत तहमा मात्र सीमित नराखी दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कम्पनीका अनुसार प्रशिक्षणले वित्तीय अपराध न्यूनीकरण, संस्थागत सुशासन सुदृढीकरण तथा वित्तीय पारदर्शिता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार







